निर्वाचन परिणाम अन्तिमतिर, नयाँ सरकार गठन कसरी ?

User Image Prime TV News ३ हप्ता अगाडि
Image of निर्वाचन परिणाम अन्तिमतिर, नयाँ सरकार गठन कसरी ?

काठमाडौ । प्रतिनिधि सभा निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले एकल सरकार बनाउने स्पष्ट स्थिति कायम गरेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितिसकेको छ।

सरकार गठनका लागि १३८ सदस्य आवश्यक पर्छ। समानुपातिकतर्फको मत गणना जारी रहेको छ र हालसम्म रास्वपा अन्य दलको तुलनामा अगाडि देखिएको छ। रास्वपाले यसअघि नै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरिसकेको छ, जसले उनको प्रधानमन्त्री बन्ने संभावना अझ बलियो बनाएको छ।

सरकार गठनको अबको आगामी प्रक्रिया के ?

निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम चैत ५ गतेभित्र सार्वजनिक गर्ने र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने योजना बनाएको छ। आयोगले प्रतिवेदन बुझाएपछि मात्रै प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु हुनेछ।

संविधानको धारा ७६ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। रास्वपासँग स्पष्ट बहुमत भएकाले धारा ७६ (१) अन्तर्गत सरकार गठन हुने देखिन्छ। आयोगले राष्ट्रपतिलाई मत परिणाम बुझाएपछि रास्वपाको संसदीय दलको बैठक बस्नेछ। बैठकले दलको नेता चयन गर्नेछ र त्यसपछि राष्ट्रपतिलाई जानकारी दिएर प्रधानमन्त्री नियुक्ति हुनेछ।

विगतमा सांसदको शपथपहिला कि प्रधानमन्त्री नियुक्ति भन्ने विवाद उठेको थियो। संविधानअनुसार प्रतिनिधिसभा सदस्य शपथग्रहण नगरी प्रधानमन्त्री बन्न नमिल्ने तर्क पनि छ। उदाहरणका लागि, २०७४ को आमनिर्वाचनपछि नेकपा एमालेबाट केपी शर्मा ओली संसदको शपथ नलिइकन प्रधानमन्त्री नियुक्त भएका थिए।

हालको प्रतिनिधिसभा अवस्था

प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट, नेपाली कांग्रेसले १८ सिट, नेकपा एमालेले ९ सिट, नेपाली कम्युनिस्ट पार्टीले ८ सिट जितेका छन्। नयाँ दल श्रम संस्कृति पार्टीका ३ उम्मेदवार निर्वाचित भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ।

समानुपातिकतर्फको मत गणना जारी छ। हालसम्म आएको नतिजाअनुसार रास्वपा अग्रस्थानमा रहेको छ। आयोगले समानुपातिक सिट बाँडफाँड गर्नेछ। सिट पाउनको लागि दलले न्यूनतम ३ प्रतिशत मत हासिल गर्नु पर्नेछ।

समानुपातिकतर्फ निर्वाचित सांसदको नाम आयोगले दलहरूलाई सिफारिस गर्न पत्राचार गर्नेछ। दलहरूले नाम सिफारिस गरेपछि आयोगले प्रमाणपत्र उपलब्ध गराउनेछ। निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि मात्रै नयाँ सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुनेछ। प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, “चैत्र ५ गते भित्र यी सबै काम सम्पन्न गर्ने लक्ष्यसहित आयोग काम गरिरहेको छ।”