इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईलाई पुटिनको बधाई, कठिन समयमा नेतृत्व सफल हुने विश्वास
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईलाई बधाई दिएका छन्।
पुटिनले पठाएको सन्देशमा इरानले अहिले सशस्त्र आक्रामकताको सामना गरिरहेको अवस्थामा सर्वोच्च नेतृत्वको जिम्मेवारी सम्हाल्नु अत्यन्त चुनौतीपूर्ण भएको उल्लेख गर्दै त्यसका लागि ठूलो साहस र आत्मबलिदान आवश्यक पर्ने बताएका छन्।
उनले मोजतबा खामेनेईले आफ्ना दिवंगत पिता आयतोल्लाह अली खामेनेईका विचार र कार्यलाई सम्मानपूर्वक अगाडि बढाउँदै कठिन परिस्थितिमा इरानी जनतालाई एकताबद्ध राख्न सफल हुने विश्वास व्यक्त गरेका छन्।
रुस र इरानबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको छ। गत वर्ष दुवै देशले रणनीतिक साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए, जसमा सैन्य सहयोगका विषय पनि समावेश गरिएको थियो। यद्यपि उक्त सम्झौतामा कुनै एक देशमाथि आक्रमण भएमा अनिवार्य रूपमा पारस्परिक सैन्य सहायता गर्ने व्यवस्था भने स्पष्ट रूपमा उल्लेख गरिएको छैन।
पुटिनले तेहरानप्रति मस्कोको अटल समर्थन दोहोर्याउँदै रुस सधैँ इरानको विश्वसनीय साझेदार रहेको र भविष्यमा पनि त्यस्तै सम्बन्ध कायम रहने बताएका छन्। यसअघि पनि उनले अमेरिका र इजरायलद्वारा गरिएको हमलाको प्रारम्भिक चरणमा आयतोल्लाह अली खामेनेईको हत्या गरिएको घटनाको कडा शब्दमा निन्दा गरेका थिए।
फेब्रुअरी २८ मा भएको भीषण हमलामा मोजतबा खामेनेई भने बाँचेका थिए। तर उक्त घटनामा उनले आफ्नी पत्नी र एक छोरालाई गुमाएका थिए।












