राजीनामा नदिन गगन थापालाई चन्द्र भण्डारीको सुझाव, छिटो महाधिवेशनमा जान आग्रह
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाकृत परिणाम ल्याउन नसकेपछि पार्टीभित्र नेतृत्वबारे चर्चा चलिरहेका बेला नेता चन्द्र भण्डारीले सभापति गगन कुमार थापालाई राजीनामा नदिन सुझाव दिएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले अहिले राजीनामा दिने समय नभई जिम्मेवारी पूरा गर्ने समय भएको बताएका हुन्। उनले थापालाई नैतिकताको नाममा पद छोड्नु भन्दा छिटो पार्टीको महाधिवेशन गराएर नयाँ जनादेश लिन आग्रह गरेका छन्।
भण्डारीले कांग्रेसको अधिवेशनका लागि बनेको चुनाव प्रक्रिया नियमित नभएको उल्लेख गर्दै छिटो महाधिवेशनमा जानु नै उपयुक्त र जिम्मेवार कदम हुने बताएका छन्। उनले अहिलेको अवस्थामा पार्टीलाई जोगाउनु नै ठूलो नैतिक जिम्मेवारी भएको पनि बताएका छन्। पछिल्लो समय युवाहरू पार्टीबाट टाढिँदै गएको उल्लेख गर्दै उनले संगठनलाई छाडेर हिँड्ने होइन, समस्याको समाधान गर्दै पार्टीलाई सुदृढ बनाउनु नेतृत्वको कर्तव्य भएको बताएका छन्।
भण्डारीले नेपाली राजनीतिमा नैतिकता कमजोर बन्दै गएको टिप्पणी गर्दै अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ कार्यशैली आवश्यक भएको बताएका छन्।







