रास्वपाको विजय पछि रवि लामिछाने र बालेन शाहसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन वार्ता
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सफलतापछि रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन संवाद गरेका छन्।
मोदीले सामाजिक सञ्जालमार्फत दुवै नेतालाई प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले हासिल गरेको उल्लेखनीय सफलताका लागि बधाई तथा आगामी सरकार गठनका लागि शुभकामना व्यक्त गरेका हुन्। उनले आफ्नो सन्देशमा रास्वपाका सभापति लामिछाने र वरिष्ठ नेता शाहसँग न्यानो टेलिफोन वार्ता भएको उल्लेख गर्दै उनीहरूको चुनावी विजयप्रति खुशी व्यक्त गरेका छन्।
मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन भारत प्रतिबद्ध रहेको पनि बताएका छन्। उनले आपसी समृद्धि, प्रगति र जनकल्याणका लागि दुवै देशबीच सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार आगामी वर्षहरूमा संयुक्त प्रयासमार्फत भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकिनेछ।
यसअघि मोदीले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका थिए। त्यस्तै चुनावकै दिन भारतीय विदेश मन्त्रालयले पनि शान्तिपूर्ण मतदानको स्वागत गर्दै नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको जनाएको थियो।
नेपालका परम्परागत राजनीतिक दलहरूको भारतसँग लामो समयदेखि निकट सम्बन्ध रहँदै आएको मानिन्छ। तर यसपटकको निर्वाचनमा नयाँ राजनीतिक शक्तिको उदय भएको छ र त्यसले ठूलो जनसमर्थन प्राप्त गरेको छ। यसले आगामी दिनमा नेपाल–भारत सम्बन्ध नयाँ ढङ्गले अघि बढ्न सक्ने सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।







