समानुपातिक प्रणालीतर्फको मतगणनामा रास्वपा अग्रस्थानमा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना जारी रहँदा कुल ९२ लाखभन्दा बढी मत गणना भइसकेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ९२ लाख ९९ मत गणना भएको छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी ४८.३१ प्रतिशत मतसहित स्पष्ट अग्रस्थानमा रहेको छ।
आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ४४ लाख ४४ हजार ५१० मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १६.१६ प्रतिशत अर्थात् १४ लाख ८६ हजार ४०३ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा एमाले ले १३.५५ प्रतिशत मतसहित १२ लाख ४६ हजार १९२ मत प्राप्त गरेको छ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टी ले ७.२७ प्रतिशत अर्थात् ६ लाख ६९ हजार १३० मत प्राप्त गरेको छ। नयाँ शक्ति मानिएको श्रम संस्कृति पार्टी ले ३.४६ प्रतिशत अर्थात् ३ लाख १८ हजार ४५६ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३.२३ प्रतिशत अर्थात् २ लाख ९७ हजार २०१ मत प्राप्त गरेको छ।
त्यस्तै जनता समाजवादी पार्टी ले समानुपातिकतर्फ हालसम्म १ लाख ४२ हजार ६९९ मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टी ले १ लाख ३९ हजार ३४५ मत प्राप्त गरेको आयोगले जनाएको छ। मतगणना अन्तिम चरणतर्फ बढ्दै जाँदा नयाँ दलको प्रभाव बढेको र परम्परागत दलहरूको मत हिस्सा अपेक्षाभन्दा कम देखिएको छ।







