शहीद स्मारक ए डिभिजन लिग सञ्चालन गर्न कठिन हुने देखिएको छः एन्फा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मुख्यालयमा गरिएको तालाबन्दीका कारण फुटबल गतिविधि प्रभावित हुन सक्ने जनाएको छ। नेपाल फुटबल खेलाडी संघले मागहरू पूरा नभएको भन्दै आइतबार एन्फा कम्प्लेक्समा तालाबन्दी गरेपछि संघले विज्ञप्ति जारी गर्दै यस्तो अवस्था सिर्जना भएको बताएको हो।
एन्फाका अनुसार तालाबन्दी हुँदा दैनिक प्रशासनिक कामकाज अवरुद्ध भएको छ, जसका कारण निर्धारित कार्यतालिकाअनुसार शहीद स्मारक ए डिभिजन लिग सञ्चालन गर्न कठिन हुने देखिएको छ। संघले सहभागी क्लबहरू र खेलाडी संघबीच निरन्तर संवाद र समन्वयमार्फत राष्ट्रिय लिगको कार्यतालिका तय गरिएको र सोहीअनुसार राष्ट्रिय लिग सम्पन्न भइसकेको जनाएको छ।
एन्फाले राष्ट्रिय लिग सकिएको एक महिनापछि ए डिभिजन लिग सुरु गर्ने तयारी भइरहेको उल्लेख गर्दै हालको तालाबन्दीले त्रिपक्षीय सहमति कार्यान्वयनमा समस्या उत्पन्न गरेको जनाएको छ। संघले क्लब र खेलाडी संघबीचको सहमतिअनुसार लिग सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको पनि दोहोर्याएको छ।
त्यस्तै खेलाडी संघको मागअनुसार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलको टिकटबाट उठ्ने केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा एन्फा प्रतिबद्ध रहेको जनाएको छ।
साथै वर्तमान कार्यसमितिले घोषणा गरेका पुरस्कारहरू पूर्ण रूपमा भुक्तानी भइसकेको र अघिल्ला कार्यसमितिबाट बाँकी रहेका पुरस्कार रकम आन्तरिक स्रोत उपलब्धताअनुसार क्रमिक रूपमा भुक्तानी गरिने एन्फाले स्पष्ट पारेको छ।













