समानुपातिक मतगणनाः रास्वपाको वर्चस्व, श्रम संस्कृति पार्टीले पनि कटायो तीन लाख

User Image Prime TV News ४ हप्ता अगाडि
Image of समानुपातिक मतगणनाः  रास्वपाको वर्चस्व,  श्रम संस्कृति पार्टीले पनि कटायो तीन लाख

काठमाडौ । प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिक मतगणना अन्तिम चरणतर्फ पुगेको छ। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कुल ८५ लाख ९३ हजार ४४० मत गणना भइसकेको छ। यसमा नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुराना र स्थापित दलहरूलाई पछाडि पार्दै ऐतिहासिक वर्चस्व कायम गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कुल गणना गरिएको मतको झन्डै  ४८.३१ प्रतिशत प्राप्त गरी सबैभन्दा ठूलो दल बन्ने सुनिश्चित गरेको छ। घण्टी चुनाव चिन्हमा उनीहरूले हालसम्म ४१ लाख ५१ हजार २५७ मत प्राप्त गरेका छन्। यो नेपाली निर्वाचन इतिहासमा समानुपातिकतर्फ कुनै पनि दलले पाएको ठूलो जनमत हो।

नेपाली कांग्रेस र नेकपा एमालेको मत परिणाम यसपटक निकै घटेको देखिएको छ। कांग्रेसले १६.१७ प्रतिशत अर्थात् १३ लाख ८९ हजार ९६६ मत पाएको छ भने नेकपा एमालेले १३.६६ प्रतिशत अर्थात् ११ लाख ७३ हजार ५६१ मत प्राप्त गरेको छ।

नेपाली कम्युनिस्ट पार्टीले ७.०९ प्रतिशत (६ लाख ९ हजार २०८ मत) प्राप्त गरेको छ। नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३.५० प्रतिशत (३ लाख १ हजार १२९ मत) पाउँदै राष्ट्रिय दलको मान्यता थ्रेसहोल्ड पार गर्ने देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३.२८ प्रतिशत (२ लाख ८२ हजार ५५ मत) पाउँदै छैटौँ स्थानमा रहेको छ।