मोज्तबा खामेनी बने इरानको सर्बोच्च नेता

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मोज्तबा खामेनी बने इरानको सर्बोच्च नेता

काठमाडौ । इरानमा अमेरिका र इजरायलसँगको तनावका बीच नयाँ सर्वोच्च नेता चयन भएको छ। इरानको ८८ सदस्यीय धार्मिक संस्था असेम्ब्ली अफ एक्सपर्ट्सले मोज्तबा खामेनी लाई देशको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको छ।

विदेशी सञ्चारमाध्यमहरुका अनुसार युद्धको अत्यन्त गम्भीर परिस्थितिमा पनि नेतृत्व चयन प्रक्रिया रोकिएको थिएन। संस्थाले जारी गरेको वक्तव्यमा सचिवालय कार्यालयमाथि भएको बम आक्रमणमा केही कर्मचारी र सुरक्षा टोलीका सदस्यको मृत्यु भएको बताइएको छ। त्यसपछि सरकारी टेलिभिजनमा समाचार वाचकले “अल्लाहु अकबर, खामेनी नै रहबर” भन्दै नयाँ नेतृत्व घोषणा गरेका थिए।

मोज्तबा खामेनी अली खामेनीका दोस्रो सन्तान हुन्। उनको जन्म सन् १९६९ सेप्टेम्बर ८ मा मस्हद सहरमा भएको थियो। १७ वर्षको उमेरमा उनले इरान–इराक युद्ध मा सेवा गरेका थिए र १९९९ मा धार्मिक अध्ययनका लागि कुम पुगेका थिए। हाल उनी मध्यस्तरका धर्मगुरु मानिन्छन् र केही मिडिया तथा अधिकारीहरूले उनलाई ‘आयतुल्लाह’ भनेर सम्बोधन गर्न थालेका छन्।

उनको नाम पहिलो पटक २००५ को राष्ट्रपतीय चुनावमा सार्वजनिक रूपमा चर्चामा आएको थियो । जब मह्मुद अहमदीनेजाद विजयी भएका थिए। सुधारवादी नेता मेहदी कर्रूबी ले मोज्तबाले सुरक्षा निकाय र मिलिसियाको सहयोगमा चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए। २००९ को ग्रीन आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले उनको सम्भावित उत्तराधिकारको विरोध गरेका थिए।

विश्लेषकका अनुसार मोज्तबा खामेनीले आफ्ना पिता अली खामेनीका नीतिहरूलाई निरन्तरता दिने सम्भावना छ। तर उनको मुख्य चुनौती भनेको इरानको आर्थिक संकट र राजनीतिक अस्थिरतालाई समाधान गर्दै देशको स्थायित्व कायम गर्नु हुनेछ।

यसैबीच, इजरायलका रक्षा मन्त्रीले नयाँ उत्तराधिकारी पनि “स्पष्ट रूपमा निशानामा रहने” चेतावनी दिएका छन्। त्यसैले मोज्तबा खामेनी आगामी दिनमा पनि अमेरिका र इजरायलसँगको तनावपूर्ण सम्बन्धको केन्द्रमा रहने विश्लेषण गरिएको छ।