प्रत्यक्षतर्फ र समानुपातिक मतका आधारमा रास्वपाले अहिले सम्मकै नयाँ रेकर्ड

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रत्यक्षतर्फ र समानुपातिक मतका आधारमा रास्वपाले अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा नयाँ अध्याय थपेको छ। निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अभूतपूर्व सफलतासहित सबैभन्दा ठूलो शक्तिका रूपमा स्थापित गरेको छ। प्रत्यक्षतर्फ जितेको सिट सङ्ख्या, प्रतिशत तथा समानुपातिक मतका आधारमा रास्वपाले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको हो।

निर्वाचन आयोगको हालसम्मको मतपरिणामअनुसार १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२४ सिटमा जित हासिल गरिसकेको छ भने एउटा क्षेत्रमा अग्रता कायम गरेको छ। एउटै पार्टीले प्रत्यक्षतर्फ यति ठूलो सङ्ख्यामा सिट जित्नु नेपाली संसदीय इतिहासमा पहिलो पटक हो। यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २४० निर्वाचन क्षेत्रमध्ये १२० सिट जित्दै सबैभन्दा ठूलो सफलता हासिल गरेको थियो।

प्रत्यक्षतर्फको प्रतिशतका हिसाबले पनि रास्वपाले नयाँ कीर्तिमान बनाएको छ। १६५ मध्ये १२१ सिट जित्नु करिब ७३.३३ प्रतिशत हो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै मानिएको छ। यसअघि २०१५ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेस ले १०९ मध्ये ७४ सिट जित्दै ६७.८९ प्रतिशत हासिल गरेको थियो, जुन लामो समयसम्म उत्कृष्ट परिणामका रूपमा रहेको थियो।

विगतका निर्वाचन परिणाम हेर्दा २०४८ सालमा कांग्रेसले २०५ मध्ये ११० सिट जितेको थियो भने २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) ले ८८ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको थियो। २०५६ सालमा कांग्रेसले १११ सिट जितेको थियो भने २०६४ सालमा माओवादीले १२० सिट जित्दै प्रमुख शक्ति बनेको थियो।

यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि रास्वपाले नयाँ इतिहास बनाएको छ। हालसम्मको गणनाअनुसार रास्वपाले ४० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ, जुन अहिलेसम्म एउटै दलले पाएको सबैभन्दा धेरै मत हो। यसअघि २०७४ सालमा एमालेले करिब ३१ लाख ७३ हजार मत ल्याएको थियो भने २०६४ सालमा माओवादीले करिब ३१ लाख ४४ हजार मत पाएको थियो ।