प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको दबदबा, १६१ क्षेत्रको नतिजा सार्वजनिक
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ जारी मतगणनामा हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ।
सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय सफलता हासिल गर्दै सबैभन्दा धेरै १२४ निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको छ। साथै, जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेको छ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले हालसम्म १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै नेकपा (एमाले)ले आठ निर्वाचन क्षेत्रमा विजय हात पारेको छ र एक क्षेत्रमा अगाडि रहेको छ।
अन्य दलतर्फ नेपाली कम्युनिष्ट पार्टी सात निर्वाचन क्षेत्रमा विजयी भएको छ भने श्रम संस्कृति पार्टीले तीन क्षेत्रमा सफलता प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवारले पनि एक–एक निर्वाचन क्षेत्रमा जीत हासिल गरेका छन्।
यसैबीच धनुषा क्षेत्र नम्बर १ को मतगणना सम्पन्न भइसके पनि उक्त क्षेत्रको अन्तिम परिणाम भने अझै औपचारिक रूपमा घोषणा गरिएको छैन। निर्वाचन आयोगका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै सो क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरिनेछ।







