भारतलाई टी–२० विश्वकपको उपाधि, न्यूजिल्याण्ड ९६ रनले पराजित

User Image Prime TV News ३ हप्ता अगाडि
Image of भारतलाई टी–२० विश्वकपको उपाधि, न्यूजिल्याण्ड ९६ रनले पराजित

काठमाडौ । आयोजक भारतले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ। फाइनल खेलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले ट्रफी आफ्नो नाममा पारेको हो।

यससँगै भारतले लगातार दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्न सफल भएको छ। यसअघि सन् २०२४ मा पनि भारतले यही प्रतियोगिताको उपाधि जितेको थियो।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २५५ रनको विशाल योगफल तयार पारेको थियो। भारतका लागि ओपनर सञ्जु सैमसनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ८९ रनको शानदार पारी खेले। उनले पाँच चौका र आठ छक्का प्रहार गरे।

यस्तै अभिषेक शर्माले २१ बलमा ५२ रनको आक्रामक पारी खेले भने इशान किशनले २५ बलमा ५४ रन जोडे। शिवम दुबे र हार्दिक पाण्ड्याले समान १८–१८ रन बनाएर टोलीलाई मजबुत अवस्थामा पुर्‍याए। कप्तान सूर्यकुमार यादव भने शून्य रनमै आउट भएका थिए।

न्यूजिल्याण्डका लागि जेम्स निशमले तीन विकेट लिए। उनले एकै ओभरमा सञ्जु सैमसन, इशान किशन र सूर्यकुमार यादवलाई आउट गर्दै खेलमा फर्कने प्रयास गरेका थिए। यस्तै म्याट हेनरी र रचिन रविन्द्रले एक–एक विकेट लिए।

२५६ रनको कठिन लक्ष्य पछ्याएको न्यूजिल्याण्डले भने सन्तोषजनक प्रदर्शन गर्न सकेन। टोलीका अधिकांश ब्याट्सम्यान भारतीय बलिङ सामु टिक्न सकेनन्। टिम सिफर्टले २६ बलमा ५२ रन बनाएर केही संघर्ष गरे भने कप्तान मिचेल सेन्टनरले ३५ बलमा ४३ रन बनाए। तर अन्य खेलाडीबाट अपेक्षित साथ नपाउँदा न्यूजिल्याण्ड लक्ष्य नजिक पुग्न सकेन।

भारतका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। जसप्रित बुमराहले चार ओभरमा १५ रन मात्र खर्चेर चार विकेट लिए। अक्षर पटेलले तीन विकेट लिए भने वरुण चक्रवर्ती, हार्दिक पाण्ड्या र अभिषेक शर्माले एक–एक विकेट लिए।

बलिङ र ब्याटिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेको भारतले फाइनलमा एकतर्फी जित निकाल्दै विश्वकपको उपाधि उचाल्न सफल भएको हो।