भारतले न्युजिल्यान्डसामु २५६ रनको विशाल लक्ष्य प्रस्तुत
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को टी–२० विश्वकपको दशौँ संस्करणअन्तर्गत साविक विजेता भारतले न्युजिल्यान्डसामु २५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा न्युजिल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको उच्च योगफल तयार पारेको हो।
भारतका ओपनर सञ्जु सामसन र अभिषेक शर्माले टोलीलाई आक्रामक सुरुवात दिलाएका थिए। उनीहरूले पहिलो विकेटका लागि ७ दशमलव १ ओभरमा ९८ रनको शानदार साझेदारी गरे।
उत्कृष्ट लयमा देखिएका अभिषेक २१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाएर आठौँ ओभरको पहिलो बलमा रचिन रविन्द्रको बलमा क्याच आउट भए।
त्यसपछि सञ्जु सामसनले इसान किशनसँग मिलेर दोस्रो विकेटका लागि १०५ रनको महत्वपूर्ण साझेदारी गरे। सञ्जुले आक्रामक ब्याटिङ गर्दै ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरी ८९ रन बनाएका थिए। उनी जिम्मी निसमको बलमा क्याच आउट भए।
न्युजिल्यान्डका लागि जिम्मी निसमले उत्कृष्ट बलिङ गर्दै १५औँ ओभरमा लगातार तीन विकेट लिँदै भारतलाई केही दबाबमा राखेका थिए। इसान किशन २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५४ रन बनाउँदा निसमकै बलमा क्याच आउट भए। त्यसपछि हार्दिक पाण्ड्या १८ रनमा आउट भए।
अन्तिमतिर शिवम दुबे २६ रन र तिलक वर्मा ८ रनमा अविजित रहँदै भारतलाई २५५ रनसम्म पुर्याए। न्युजिल्यान्डका लागि जिम्मी निसमले ३ विकेट लिए भने म्याट हेन्री र रचिन रविन्द्रले समान एक–एक विकेट हात पारे। अब २५६ रनको कठिन लक्ष्य पछ्याउन न्युजिल्यान्ड केहीबेरमा जवाफी ब्याटिङका लागि मैदान उत्रनेछ।












