एमाले मकवानपुर अध्यक्ष पोख्रेल पदमुक्त

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमाले मकवानपुर अध्यक्ष पोख्रेल पदमुक्त

काठमाडौ । मकवानपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जिल्ला सचिवालय बैठकले अध्यक्ष श्रीधर पोख्रेललाई पदमुक्त गर्ने निर्णय गरेको छ।

आइतबार बसेको बैठकले पोख्रेललाई पदबाट हटाउँदै वर्तमान उपाध्यक्ष हिदम लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको पार्टीकी जिल्ला सचिव सीता विष्टले जानकारी दिइन् । निर्वाचनमा पार्टीको पराजय र नेतृत्वप्रति प्रश्न उठाउँदै पोख्रेलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष पदबाट राजीनामा घोषणा गरेका थिए।

उनी ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका लामा हाल भीमफेदी गाउँपालिकाका अध्यक्षसमेत हुन्। पार्टीले बैठकपछि जारी गरेको निर्णयअनुसार अध्यक्ष पोख्रेल विगत पाँच महिनादेखि पार्टीको नियमित काम र सम्पर्कमा नरहेको विषयप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

केही महिनाअघि हेटौंडा उपमहानगरपालिका–५ स्थित पार्टी कार्यालय अगाडि स्कुटर दुर्घटनामा घाइते भएपछि उनी पार्टी गतिविधिमा सक्रिय नभएको उल्लेख गरिएको छ। पार्टीले विज्ञप्ति जारी गर्दै पार्टीलाई जानकारी नदिई लामो समय मौन बसेपछि निर्वाचन परिणामलाई लक्षित गर्दै राजीनामा दिएको अभिव्यक्ति सार्वजनिक गरिएको विषयलाई गम्भीरतापूर्वक लिइएको जनाएको छ।

साथै यसबाट पार्टी पंक्ति र सार्वजनिक रूपमा फैलिएको भ्रमलाई खण्डन गर्दै पोख्रेललाई पदबाट मुक्त गरिएको स्पष्ट पारेको छ।