हिंसात्मक दमनमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न आयोगको सिफारिस
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक दमनमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न सिफारिस गरिएको जाँचबुझ आयोगले जनाएको छ।
आन्दोलनका घटनाबारे अध्ययन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएपछि पत्रकारहरूसँग कुरा गर्दै गोली चलाउन आदेश दिने, गोली चलाउने तथा गोली चल्नबाट नरोकिने सबैलाई कारबाही सिफारिस गरिएको बताएका हुन्।
आयोगले आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रतिवेदन बुझाएको थियो। अध्यक्ष कार्कीले आयोगले इमानदारीपूर्वक र बिनापूर्वाग्रह घटनाको अध्ययन गरी प्रतिवेदन तयार पारेको उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावहरू पनि समेटिएको बताए।
उनका अनुसार सरकारको कुशासन, नियमनकारी निकायहरू कमजोर बनाइनु तथा न्यायपालिका र कार्यपालिकामा देखिएको ढिलासुस्तीका कारण जनआक्रोश बढ्दै जाँदा भदौ २३ गते जेनजी आन्दोलन भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ।
आयोगका सदस्य विज्ञानराज शर्माले आयोगको प्रतिवेदन जाँचबुझमा केन्द्रित भएकाले अब सम्बन्धित निकायले त्यसका आधारमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताए। अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासन स्थापना गर्न आवश्यक उपाय र सुझावहरू पनि प्रतिवेदनमा समेटिएको जानकारी दिए।
प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले आयोगले निकै मेहनतपूर्वक काम गरेको भन्दै धन्यवाद दिइन्। उनले प्रतिवेदनको अध्ययनपछि गृहमन्त्रीसँग छलफल गरी मन्त्रिपरिषद्मा पेस गरिने र त्यसपछि कार्यान्वयनको प्रक्रिया अघि बढाइने बताइन्। साथै प्रतिवेदनको अध्ययनपछि आवश्यक परे पूर्ण विवरण वा निचोड सार्वजनिक गर्ने विषयमा पनि सरकारभित्र छलफल गरिने उनले जानकारी दिइन्।







