नेपाली कांग्रेस जम्मा १७ वटा निर्वाचन क्षेत्रमा मात्रै विजयी
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जम्मा १७ वटा निर्वाचन क्षेत्रमा मात्रै विजय हासिल गरेको छ।
देशभरका १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेस १७ सिटमा सीमित भएको हो। हाल मतगणना जारी रहेका बाँकी १५ निर्वाचन क्षेत्रमा पनि कांग्रेसका उम्मेदवारहरूले अग्रता कायम गर्न सकेका छैनन्।
कांग्रेसबाट रौतहट–२ मा मो. फिरदोश आलम, सुर्खेत–१ मा विष्णु बहादुर खड्का, कपिलवस्तु–३ मा अभिषेक प्रताप शाह, जाजरकोट–१ मा खडक बहादुर बुढा र पाल्पा–१ मा सन्दीप राना विजयी भएका छन्। यस्तै पाँचथर–१ मा नरेन्द्र कुमार केरुङ, बाजुरा–१ मा जनक राज गिरी, डोटी–१ मा भरत बहादुर खड्का, सोलुखुम्बु–१ मा प्रकाश सिंह कार्की र दैलेख–१ मा बासना थापा निर्वाचित भएका छन्।
यसैगरी तेह्रथुम–१ मा सन्तोष सुब्बा, अछाम–१ मा भरत कुमार स्वार, रसुवा–१ मा मोहन आचार्य, हुम्ला–१ मा जय पती रोकाया, मुगु–१ मा खड्ग शाही, मुस्ताङ–१ मा योगेश गौचन थकाली र मनाङ–१ मा टेक बहादुर गुरुङ विजयी भएका छन्। यस परिणामसँगै यसपटकको निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ अपेक्षाभन्दा कमजोर अवस्थामा पुगेको देखिएको छ।







