जेनजी आन्दोलनमा सुरक्षा कमजोरी, आयोगले कारबाही सिफारिस
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । जेनजी आन्दोलन जाँचबुझ आयोगले ६ महिनापछि आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ।
आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार जेनजी आन्दोलनका क्रममा सुरक्षा कमजोरी (सेक्युरिटी ल्याप्सेस) देखिएको छ। आयोगले सम्बन्धित पक्षमा कारबाही सिफारिस गरेको भए पनि, यसमा कस्तो कारबाही र क–सलाई कारबाही गरिने भन्ने विवरण तत्काल सार्वजनिक गरिएको छैन।
प्रवक्ता शर्माले भने, “म यत्तिचाहिँ भन्छु, जेनजी आन्दोलनका क्रममा सेक्युरिटी ल्याप्सेस भएकै छन्। हामीले कारबाही सिफारिस गरेका छौँ, तर कस्तो कारबाही र क–ससलाई भन्ने कुरा अहिले यहाँ भन्दिनँ।”
छानबिन समितिका सदस्य शर्माका अनुसार गल्ती गर्नेहरूलाई अभियोग प्रतिवेदनमा उल्लेख भएको बताए। उनले भने, ‘हामीले सरकारलाई बुझाइसकेका छौँ। त्यो सरकारको सम्पत्ति भइसक्यो। अब के गर्नुपर्ने हो सरकारले गर्छ। हामीले केहीलाई कारबाही सिफारिस गरेका छौँ। कति र कसलाई भन्न मैले मिल्दैन।’
उनले प्रतिवेदन करिब ८ देखि १० हजार पेजको रहेको बताए। तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथि फौजदारी अभियोगबारे उनले भने, ‘जसले गल्ती गरेको छ, उसलाई लगाइएको छ। त्यसमा कुनै दुई मत छैन।’
आयोगको प्रतिवेदनले सुरक्षासम्बन्धी व्यवस्थामा सुधारका कदम चाल्न सरकारलाई सिफारिस गर्ने अपेक्षा गरिएको छ।







