काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको क्लिन स्वीप

User Image Prime TV News ४ हप्ता अगाडि
Image of काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको क्लिन स्वीप

काठमाडौ । काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीप गरेको छ । उपत्यकाभित्रका ३ जिल्लाका १५ सिटमा रास्वपाले क्लिन स्वीप गरेको हो । काठमाडौँमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ सिट छ । यी सबै सिटमा रास्वपाका उम्मेदवार विजयी भएका हुन् ।

०७९ मा काठमाडौँका १० क्षेत्रमध्य ४ क्षेत्र र ललितपुरका ३ मध्य १ सिटमा रास्वपाले जितेको थियो । अहिले ती क्षेत्रमा जित दोहोर्याउँदै थप १० क्षेत्रमा जितेर क्लिन स्वीप गरेको हो । रास्वपाबाट उम्मेदवार बनेर काठमाडौँ–१ मा रञ्जु दर्शना (न्यौपाने), काठमाडौँ–२ मा सुनिल केसी, काठमाडौँ–३ मा राजुनाथ पाण्डे, काठमाडौँ–४ मा पुकार बम, काठमाडौँ–५ मा सस्मित पोखरेल, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली, काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ–९ मा डोलप्रसाद अर्याल र काठमाडौँ–१० मा प्रताप विष्ट निर्वाचित भए ।

भक्तपुर–१ का रूकेश रञ्जित र भक्तपुर–२ मा राजीव खत्री निर्वाचित भए । ललितपुर–१ मा बुद्धरत्न महर्जन, ललितपुर–२ मा जगदिश खरेल र ललितपुर ३ मा डा. तोसिमा कार्की विजयी भएका हुन् । ०७९ मा रास्वपाबाट उम्मेदवार बनेर काठमाडौँ–२ मा सोविता गौतम, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली र काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए ।

तीन क्षेत्रमा पुरानै अनुहार दोहोरिएका छन् भने काठमाडौँ–२ मा ०७९ मा जितेकी सोविता गौतम अहिले चितवन–३ मा उम्मेदवार बनिन् । ०७९ मा ललितपुर–३ बाट कार्कीले नै जितेकी थिइन् । काठमाडौँ–१ मा दर्शनाले १५ हजार ४५५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए । काठमाडौँ–२ मा केसीले ३४ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कबिर शर्माले ८ हजार ८७४ मत ल्याए ।

काठमाडौँ–३ मा पाण्डेले १८ हजार ७५७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए । काठमाडौँ–४ मा बमले २९ हजार २४२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सचिन तिमल्सेनाले ८ हजार ८२४ मत ल्याए । काठमाडौँ–५ मा पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रदीप पौडेलले ९ हजार १५९ मत ल्याए ।

काठमाडौँ–६ मा खनालले २७ हजार ७१९ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत ल्याए । काठमाडौँ–७ मा पराजुलीले २७ हजार ८०५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रमोदहरि गुरागाईले ३ हजार ९८२ मत ल्याए । काठमाडौँ–८ मा श्रेष्ठले २४ हजार ५९२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत ल्याए ।

काठमाडौँ–९ मा अर्यालले ३५ हजार ९३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नानुमैया बास्तोलाले ५ हजार ४६० मत ल्याइन् । काठमाडौँ–१० मा विष्टले ३७ हजार ४६९ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार हिमाल कार्कीले ८ हजार १०० मत ल्याए । भक्तपुर–१ मा ०४८ सालदेखि जित्दै आएको नेपाल मजदुर किसान पार्टीलाई हराउँदै रास्वपा उम्मेदवार रञ्जित विजयी भए ।

रञ्जितले ३३ हजार ४३६ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्व बनेका नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत पाए । भक्तपुर–२ मा खत्रीले एमाले उम्मेदवार महेश बस्नेतलाई पराजित गरे । खत्रीले ४२ हजार ३३४ मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार बस्नेतले १० हजार ९९६ मत ल्याए । ललितपुर–१ मा महर्जनले नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणालाई पराजित गरे ।

महर्जनले २३ हजार ३७३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार राणाले १३ हजार ५२० मत ल्याए । ललितपुर–२ मा खरेलले जित्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जन भए । खरेलले ३९ हजार ४९१ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार महर्जनले ७ हजार ४२० मत मात्रै ल्याए ।

ललितपुर–३ मा डा. कार्कीले नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्र श्रेष्ठलाई पराजित गरिन् । कार्कीले ४३ हजार ९६ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका ९ हजार ४५ मत ल्याए ।