जेनजी प्रदर्शन सम्बन्धी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले आज प्रतिवेदन सरकारलाई बुझाउदै

User Image Prime TV News ४ हप्ता अगाडि
Image of जेनजी प्रदर्शन सम्बन्धी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले आज  प्रतिवेदन सरकारलाई बुझाउदै

काठमाडौ । जेनजी प्रदर्शनसम्बन्धी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ।

पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्की समक्ष प्रतिवेदन पेश गर्ने तयारी गरेको हो। प्रधानमन्त्री सचिवालयका अनुसार आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री कार्यालयमै पुगेर प्रतिवेदन बुझाउने कार्यक्रम तय गरिएको छ।

सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा घटेका घटनाबारे सत्यतथ्य पत्ता लगाउन असोज ५ गते उक्त आयोग गठन गरेको थियो। आयोगमा पूर्व एआईजी विज्ञान राज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्यका रूपमा रहेका छन्। आयोगले घटनासम्बन्धी प्रमाण संकलन, अध्ययन तथा सरोकारवालासँग छलफल गर्दै प्रतिवेदन तयार पारेको जनाएको छ।

विशेषगरी भदौ २३ मा काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान जानेगरी भएको घटनालाई केन्द्रमा राखेर आयोगले विस्तृत अनुसन्धान गरेको थियो। यस क्रममा आयोगले १५० भन्दा बढी सरकारी अधिकारी, आन्दोलनका सहभागी तथा प्रत्यक्षदर्शीसँग बयान लिएको जनाएको छ।

जेनजी आन्दोलन भएको समयमा देशमा केपी ओली शर्मा नेतृत्वको सरकार रहेको थियो। त्यसबेला रमेश लेखक गृह मन्त्री, गोकर्णमणी दवाडी गृह सचिव,  चन्द्रकुवेर खापुङ नेपाल प्रहरीका आईजीपी तथा छविलाल रिजाल काठमाडौँका प्रमुख जिल्ला अधिकारी रहेका थिए। आयोगले बुझाउने प्रतिवेदनले प्रदर्शनका क्रममा भएको घटनाक्रम, जिम्मेवारी तथा आगामी सुधारका विषयमा महत्वपूर्ण सुझाव दिने अपेक्षा गरिएको छ।