अमरेश सिंहलाई गगनको बधाई
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । सर्लाही–४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीकाका उम्मेदवार अमरेश कुमार सिंहलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै सिंहलाई सफल कार्यकालको शुभकामना दिएका हुन्।
थापाले सन्देशमा सर्लाही क्षेत्र नम्बर–४ बाट निर्वाचित भएकोमा सिंहलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। साथै उनले आफूलाई मत दिने क्षेत्रका मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचन परिणामलाई सम्मान गरेको बताएका छन्।
उनले निर्वाचन अभियानका क्रममा सर्लाही–४ मा देखेका विभिन्न समस्याहरू समाधानका लागि आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार पहल जारी राख्ने उल्लेख गरेका छन्। जनताको विश्वास र मायाका लागि कृतज्ञता व्यक्त गर्दै उनले क्षेत्रको विकास र समस्याको सम्बोधनका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।
यस निर्वाचनमा रास्वपाका सिंह विजयी भएसँगै सर्लाही–४ मा नयाँ राजनीतिक समीकरण देखिएको छ भने कांग्रेस सभापति थापाले पराजयलाई स्वीकार गर्दै लोकतान्त्रिक अभ्यासअनुसार विजेतालाई बधाई दिएका छन्।












