२८ क्षेत्रको मतपरिणाम आउन बाँकी ,रास्वपा १०६ सिटमा विजयी १८ क्षेत्रमा अग्रता
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा नयाँ राजनीतिक शक्ति रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा अग्रस्थानमा देखिएको छ। हालसम्म सार्वजनिक नतिजाअनुसार रास्वपाले १०६ सिट जितिसकेको छ भने अझै २८ क्षेत्रको मतपरिणाम आउन बाँकी रहेको छ।
तीमध्ये १८ क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरू अग्रता लिइरहेका छन्, जसले पार्टीलाई एकल बहुमतसहित सरकार गठन गर्ने सम्भावना बलियो बनाएको छ। अहिलेसम्मको मतगणनाअनुसार अन्य दलहरू निकै पछाडि देखिएका छन्। नेपाली कांग्रेसले १५ सिट जितेको छ भने नेकपा एमालेले ७ सिटमा विजय हासिल गरेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले ६ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट, श्रम संस्कृति पार्टीले १ सिट तथा एक स्वतन्त्र उम्मेदवारले पनि विजय हासिल गरेका छन्।
प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा समानुपातिकतर्फको मतगणना पनि सुरु भइसकेको छ, जहाँ पनि रास्वपाकै अग्रता देखिएको छ। यसपटकको निर्वाचनमा रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी मैदानमा होमिएको थियो। काठमाडौं महानगरपालिकाका निवर्तमान मेयरसमेत रहेका बालेनले मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका थिए। उनी झापा–५ बाट उम्मेदवार बनेका थिए, जुन क्षेत्रबाट विगतमा केपी ओली निर्वाचित हुँदै आएका थिए।
झापा–५ मा भएको प्रतिस्पर्धामा बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका छन् भने एमाले अध्यक्ष ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। यसरी बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्। यो परिणामलाई नेपाली राजनीतिमा ठूलो परिवर्तनको संकेतका रूपमा हेरिएको छ।







