भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश: नयाँ बन्ने सरकारसँग सहकार्य गर्दै शान्ति, प्रगति र समृद्धि हासिल गर्न भारत प्रतिबद्ध छ
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सफल र शान्तिपूर्ण समापन भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै उनले नेपाली नागरिकले लोकतान्त्रिक अधिकार उत्साहपूर्वक प्रयोग गरेकोप्रति खुशी व्यक्त गरेका छन्। मोदीले आफ्नो सन्देशमा यस निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
उनले नेपाली ‘दिदीबहिनी र दाजुभाइ’ले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै लोकतन्त्रलाई जीवन्त बनाएको उल्लेख गरेका छन् । नेपालमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लागेका बेला आएको मोदीको सन्देशलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
उनले भारत सधैं नेपालको नजिकको मित्र र छिमेकीका रूपमा रहने विश्वास व्यक्त गर्दै नयाँ बन्ने सरकारसँग सहकार्य गरेर साझा शान्ति, प्रगति र समृद्धि हासिल गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।
पछिल्ला वर्षहरूमा नेपाल र भारतबीच कनेक्टिभिटी, ऊर्जा व्यापार तथा विकास साझेदारीका क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको छ। मोदीको पछिल्लो सन्देशलाई विश्लेषकहरूले आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउने संकेतका रूपमा व्याख्या गरेका छन्।







