निर्वाचनमा कांग्रेसको कमजोर प्रदर्शनपछि रुपन्देहीका उपसभापति घिमिरेको राजीनामा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of निर्वाचनमा कांग्रेसको कमजोर प्रदर्शनपछि रुपन्देहीका उपसभापति घिमिरेको राजीनामा

रुपन्देही । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सफलता हासिल गर्न नसकेपछि जिल्ला तहको नेतृत्वमा असर देखिएको छ। यसैक्रममा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले पदबाट राजीनामा दिएका छन्।

घिमिरेले शनिबार विज्ञप्ति जारी गर्दै निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै जिल्ला कार्यसमितिको उपसभापति पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले आफ्नो राजीनामा आजकै मितिदेखि लागू हुने गरी पार्टी नेतृत्वसमक्ष पेस गरेको उल्लेख गरेका छन्।

उनले प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीका सबै क्षेत्रमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको अवस्थालाई ध्यानमा राख्दै आफूले नैतिक जिम्मेवारी लिएको बताएका छन्।

साथै उनले पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्ने अवसरप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहँदै सक्रिय सदस्यका रूपमा संगठन सुदृढीकरणमा लागिरहने बताएका छन्। घिमिरेले आफ्नो राजीनामा स्वीकृत गरिदिन पार्टी नेतृत्वसँग आग्रहसमेत गरेका छन्।