भक्तपुर–२ मा महेश बस्नेतले गरे हार स्वीकार
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । भक्तपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले यसपटकको निर्वाचन परिणाम आफ्नो पक्षमा नआएको स्वीकार गरेका छन्।
उनले लोकतान्त्रिक व्यवस्थामा जनताको निर्णय नै अन्तिम हुने भन्दै त्यसलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बस्नेतले आफू एमालेको तर्फबाट निर्वाचनमा सहभागी भएको उल्लेख गर्दै परिणाम अनुकूल नआए पनि जनताको निर्णयलाई सम्मान गर्ने बताएका हुन् ।
निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार भक्तपुर–२ मा रास्वपाका राजीव खत्री ३४ हजार ७०२ मतसहित अग्रस्थानमा छन्। एमालेका बस्नेतले ८ हजार ३५१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कवीर राणाले ७ हजार ३२१ मतसहित तेस्रो स्थानमा रहेका छन्। उक्त क्षेत्रमा मतगणना जारी रहेको जनाइएको छ।
बस्नेतले आफूलाई विश्वास गरेर मत दिएका मतदाताप्रति धन्यवाद व्यक्त गर्दै चुनावी अभियानमा खटिएका पार्टीका नेता–कार्यकर्ता तथा समर्थकप्रति पनि आभार व्यक्त गरेका छन्।
उनले राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा गर्ने प्रतिबद्धता भने निरन्तर रहने बताएका छन्। साथै शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा सदन बाहिरबाट पनि आवाज उठाइरहने बताएका छन् ।







