रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलको फराकिलो जित, विष्णु पौडेल पराजित
Prime TV News ४ हप्ता अगाडि 
रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेल विजयी भएका छन्। उनले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार खरेलले ५४ हजार ९२७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले १२ हजार ३०२ मत ल्याएका छन्। यससँगै खरेलले पौडेललाई ४२ हजार ६२५ मतान्तरले पछि पार्दै प्रभावशाली जित हात पारेका हुन्।
लामो समयदेखि रुपन्देहीको राजनीतिमा बलियो प्रभाव राख्दै आएका पौडेलका लागि यो हार ठूलो झट्का मानिएको छ। २०५६ सालदेखि सो क्षेत्रबाट चुनाव लड्दै आएका उनले २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार जित हासिल गरेका थिए। तर यसपटक भने रास्वपाका युवा उम्मेदवार खरेलसँग पराजित भएका हुन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले ९ हजार १६ मत प्राप्त गरेका छन्। रुपन्देही–२ मा कुल ८६ हजार ५३० मत खसेको निर्वाचन आयोगले जनाएको छ।







