निर्वाचन हार स्वीकार्दै कांग्रेसले गहिरो समीक्षा गर्छ : विश्वप्रकाश शर्मा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of निर्वाचन हार स्वीकार्दै कांग्रेसले गहिरो समीक्षा गर्छ : विश्वप्रकाश शर्मा

काठमाडौ । प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो पार्टीको अनुकूल नआएको स्वीकार गर्दै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र गहिरो समीक्षा गरिने बताएका छन्।

फेसबुकमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले निर्वाचनको परिणाम अनपेक्षित नभएको बताएका छन्। नागरिकको बदलिँदो मनोविज्ञान र चाहनालाई समयमै बुझ्न नसक्दा कांग्रेसले हार व्यहोर्नुपरेको उनको भनाइ छ।

शर्माले २०७९ सालको स्थानीय तह निर्वाचनमा धरान, धनगढी र काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जित्दा मतदाताले स्पष्ट सन्देश दिएको उल्लेख गरे। तर त्यो सन्देशलाई कांग्रेसले गम्भीर रूपमा लिन नसक्दा अहिलेको परिणाम आएको उनले बताए।

उनका अनुसार सरकार सञ्चालनको काम गराइ र गति प्रभावकारी हुन नसक्दा आम नागरिकमा असन्तुष्टि र निराशा बढेको थियो। त्यही असन्तुष्ट मनोविज्ञानलाई मतमा बदल्दै नयाँ राजनीतिक शक्तिको उदय भएको उनले संकेत गरेका छन्। उनले निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सन्दर्भ पनि उल्लेख गरेका छन्।

शर्माले महाधिवेशनपछि पार्टीभित्र सुधारका विभिन्न प्रयास भए पनि ती पर्याप्त नभएको स्वीकार गरेका छन्। अब छिट्टै केन्द्रीय कार्यसमिति बैठक बसेर निर्वाचन परिणामबारे गहिरो समीक्षा गरिने उनले बताएका छन्।

पराजयको यो घडीमा निराश नभई संयमित र एकताबद्ध भएर अघि बढ्न उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। साथै उनले लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्दै निर्वाचनमा विजयी सबै उम्मेदवारलाई बधाईसमेत दिएका छन्।