काठमाडौं–४ मा राजन भट्टराईले माने हार, अब चुनाव नलड्ने घोषणा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of काठमाडौं–४ मा राजन भट्टराईले माने हार, अब चुनाव नलड्ने घोषणा

काठमाडौ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ४ मा नेकपा एमाले का उम्मेदवार राजन भट्टराईले पराजय स्वीकार गरेका छन्। उनले आगामी दिनमा यही क्षेत्रबाट चुनाव नलड्ने घोषणा पनि गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले यसपटक पनि मतदाताको विश्वास जित्न नसकेको बताएका छन्। उनले लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वोच्च हुने भन्दै निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको उल्लेख गरेका छन्।

“म यहाँहरूका बीच सूर्य चिन्ह लिएर निर्वाचनमा आएको थिएँ। तर यसपटक पनि यहाँहरूको विश्वास जित्न सकिनँ,” उनले लेखेका छन्। साथै उनले विजयउन्मुख उम्मेदवार तथा सम्बन्धित दललाई बधाईसमेत दिएका छन्।

भट्टराईले राजनीतिमा पराजय अन्तिम सत्य नभई आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर हुने उल्लेख गर्दै जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताएका छन्।

यसअघि पनि काठमाडौं–४ बाट चुनाव लड्दा उनी गगन थापा सँग पराजित भएका थिए। यसपटकको हारसँगै उनले यस क्षेत्रमा तेस्रो पटक पराजय व्यहोरेका हुन्। सन्देशमा उनले काठमाडौं–४ बाट आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयसमेत सार्वजनिक गरेका छन्।