रास्वपाको चुनावी आँधी : ९० भन्दा बढी क्षेत्रमा अग्रता, कांग्रेस–एमाले दोहोरो अंक छुन संघर्षमा
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि देशभर मतगणना जारी छ। प्रारम्भिक मतपरिणामहरूले यसपटकको निर्वाचनमा नयाँ राजनीतिक शक्ति र युवा पुस्ताको प्रभाव उल्लेखनीय रूपमा देखिएको संकेत दिएका छन्। हालसम्म सार्वजनिक रुझानअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अधिकांश क्षेत्रमा अग्रता बनाउँदै गएको देखिएको छ।
मतगणना भइरहेका निर्वाचन क्षेत्रहरूमध्ये रास्वपाले प्रत्यक्षतर्फ ९० भन्दा बढी क्षेत्रमा अग्रता कायम गरेको प्रारम्भिक तथ्यांकले देखाएको छ। मतगणनाको क्रम जारी रहेकाले आगामी केही घण्टामा यो संख्या अझ बढ्ने अनुमान गरिएको छ। यसले परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिँदै नयाँ राजनीतिक शक्ति उदाउँदै गएको संकेत दिएको विश्लेषण गरिएको छ।
यसैबीच रास्वपाका सभापति रवि लामिछाने चितवन–२ मा फराकिलो अग्रतासहित अघि बढिरहेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार बालेन शाह झापा–५ मा केपी शर्मा ओली भन्दा अघि देखिएका छन्। तनहुँ–१ मा स्वर्णिम वाग्ले बलियो अवस्थामा देखिएका छन् भने काठमाडौंका अधिकांश क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरूले अग्रता लिएका छन्। काठमाडौं–१ मा रञ्जु दर्शना विजयी भइसकेकी छन्।
त्यसैगरी भक्तपुर, ललितपुर, मोरङ र झापालगायत जिल्लामा पनि रास्वपाको पक्षमा मतपरिणाम देखिन थालेको छ। उता नेपाली कांग्रेसले मुस्ताङमा जित हासिल गर्दा अन्य करिब १० क्षेत्रमा अग्रता बनाएको छ भने नेकपा एमाले ले हालसम्म करिब ८ क्षेत्रमा मात्रै अग्रता कायम गरेको छ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले ९ स्थानमा अग्रता बनाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वमा सुरक्षित अवस्थामा देखिँदा सहसंयोजक माधवकुमार नेपाल रौतहटमा कमजोर देखिएको प्रारम्भिक मतपरिणामले संकेत गरेको छ। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।







