बुद्ध एयरका संस्थापक वीरेन्द्र बहादुर बस्नेतले गतिशील लोकतान्त्रिक पार्टी छोडे

User Image Prime TV News ४ हप्ता अगाडि
Image of बुद्ध एयरका संस्थापक वीरेन्द्र बहादुर बस्नेतले गतिशील लोकतान्त्रिक पार्टी छोडे

काठमाडौ । बुद्ध एयरका संस्थापक वीरेन्द्र बहादुर बस्नेतले सामाजिक सञ्जालमार्फत गतिशील लोकतान्त्रिक पार्टी छोडेको घोषणा गरेका छन्। बस्नेतले पछिल्लो समय राजनीतिक प्रक्रिया र वर्तमान संस्कारले उनको सिद्धान्त र आत्मासँग मेल नखाएको कारण पार्टी छोड्ने निर्णय गरेको बताएका हुन्।

बस्नेतले भदौ २३–२४ गते देशभर फैलिएको जनविद्रोहलाई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितीविरुद्धको विस्फोटको रूपमा व्याख्या गर्दै, सो घटनाले उनी राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको बताए। सो समयमा ७६ जना नवयुवाको शहादतले उनी प्रभावित भएका थिए र उनीहरूले देखेको सुशासन, समान अवसर, सम्मानजनक रोजगारी र समतामूलक समाजको सपनाले उनलाई पार्टीको केन्द्रीय सदस्य बनाएको उनले बताए।

तर पछिल्लो अनुभव र राजनीतिक संरचनाभित्र रहेर आफूले चाहेको योगदान दिन नसक्ने निष्कर्षमा पुगेको बस्नेतले स्पष्ट पारे। अब उनी स्वतन्त्र नागरिकका रूपमा समाजसेवा र देशको विकासमा सक्रिय हुने योजना बनाइरहेका छन्।

बस्नेतले आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने योजना रहेको बताए। उनले स्थानीय र प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि, र गुणस्तरीय माध्यमिक शिक्षालाई दिगो रोजगारी र समतामूलक समृद्धिको मुख्य क्षेत्रका रूपमा देखेका छन्।

अन्त्यमा बस्नेतले गतिशील लोकतान्त्रिक पार्टी र अन्य लोकतान्त्रिक दलहरुलाई शुभकामना व्यक्त गर्दै, आफू अब स्वतन्त्र र जिम्मेवार समाजसेवीको रूपमा देशको सेवामा समर्पित रहने बताएका छन्।