प्रतिनिधिसभा मतगणनामा रास्वपाको दबदबा, ४० भन्दा बढी क्षेत्रमा अग्रता
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय अग्रता कायम गरेको छ। प्रारम्भिक मतपरिणाम अनुसार मतगणना भइरहेका क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले ४० भन्दा बढी स्थानमा अग्रता लिइरहेका छन्।
निर्वाचन आयोगका अनुसार रास्वपाले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा प्रभावशाली प्रदर्शन गरेको देखिएको छ। काठमाडौंका अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अगाडि छन्। काठमाडौं–१ मा रञ्जु न्यौपाने, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–१० मा प्रदीप विष्ट, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल र काठमाडौं–६ मा शिशिर खनाल अग्रस्थानमा रहेका छन्।
त्यस्तै चितवन–२ मा रवि लामिछाने, ललितपुर–३ मा तोसीमा कार्की, तनहुँ–१ मा स्वर्णिम वाग्ले, झापा–२ मा इन्दिरा राना मगर, कास्की–१ मा खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल तथा कास्की–३ मा बिना गुरुङले पनि अग्रता कायम गरेका छन्।
मोरङ, रूपन्देही, बाँके, दाङ, कञ्चनपुर, रौतहट, धनुषा र महोत्तरीलगायत जिल्लामा पनि रास्वपाका उम्मेदवारहरूले राम्रो मत ल्याउँदै अग्रता बनाइरहेका छन्। यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारहरू ५ क्षेत्रमा अगाडि छन् भने नेपाली कांग्रेस का उम्मेदवारहरू ४ क्षेत्रमा अग्रता लिइरहेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारहरू २ क्षेत्रमा अगाडि रहेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रूकुम पूर्व–१ बाट अग्रस्थानमा छन् भने कालीकोट–१ मा महेन्द्रबहादुर शाहीले अग्रता लिइरहेका छन्। देशभर मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने अझै केही समय लाग्ने बताइएको छ। प्रारम्भिक परिणामले भने नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाको प्रभाव उल्लेखनीय रूपमा बढेको संकेत गरेको छ।







