प्रतिनिधि सभा निर्वाचन परिणाम स्वीकार्दै विश्वप्रकाश शर्माले रास्वपाको उदयलाई स्वागत

User Image Prime TV News ४ हप्ता अगाडि
Image of प्रतिनिधि सभा निर्वाचन परिणाम स्वीकार्दै विश्वप्रकाश शर्माले रास्वपाको उदयलाई स्वागत

काठमाडौ । विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतपरिणामलाई स्वीकार गरेका छन्। नेपाली कांग्रेसका उपसभापति समेत रहेका शर्माले मतदाताको निर्णयलाई सम्मान गर्नुपर्ने बताएका हुन्।

प्रारम्भिक मतगणनाले कांग्रेसले अपेक्षाभन्दा कमजोर प्रदर्शन गर्ने संकेत देखिएपछि शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लोकतन्त्रमा मतदाताको फैसला अन्तिम हुने उल्लेख गरेका छन्। उनले निर्वाचन परिणामलाई संयमित ढंगले स्वीकार्दै नयाँ राजनीतिक शक्तिको उदयलाई स्वागत गरेका छन्।

शर्माले ब्यालेटमार्फत उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को परिणामलाई अप्रत्याशित नभएको बताएका छन्। उनका अनुसार २०७९ सालको निर्वाचनमै रास्वपाले आफ्नो राजनीतिक सम्भावनाको संकेत देखाइसकेको थियो।

उनले २०६४ सालमा सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएपछि निर्वाचनमार्फत उदाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को उदाहरण दिँदै नयाँ शक्तिको उदयलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक परिणामका रूपमा लिनुपर्ने बताएका छन्।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, “मतदाताको फैसला स्वीकार्य छ। बुलेटबाट उदाएको माओवादीलाई स्वागत गर्दा देखिएको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत। ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन। चर्को आशा अर्को निराशामा बदलिनु हुँदैन, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ।”

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो भने रास्वपा स्थापना भएको केही महिनामै राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै चौथो ठूलो दल बनेको थियो। यसपटकको प्रारम्भिक मतगणनाले भने रास्वपाको प्रभाव उल्लेख्य रूपमा बढ्ने संकेत देखिएको छ।