कास्कीका तीनै निर्वाचन क्षेत्रमा रास्वपाको प्रारम्भिक अग्रता

User Image Prime TV News ४ हप्ता अगाडि
Image of कास्कीका तीनै निर्वाचन क्षेत्रमा रास्वपाको प्रारम्भिक अग्रता

पोखरा । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामले जिल्लामा रास्वपाको प्रभाव देखिएको छ।

निर्वाचन अधिकृतको कार्यालय कास्कीका अनुसार कास्की क्षेत्र नम्बर १ मा रास्वपाका खड्गराज पौडेल गनेस अग्रस्थानमा रहेका छन्। उनले १ हजार ३५५ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेस का तिलक रानाभाट ले ५३५ मत पाएका छन् भने नेकपा एमाले का बैनबहादुर अधिकारी क्षेत्री ले ५३० मत प्राप्त गरेका छन्। रुपा गाउँपालिकाका केही वडाको मतगणनाबाट यो प्रारम्भिक परिणाम आएको हो।

यस्तै कास्की क्षेत्र नम्बर २ मा रास्वपाका उत्तम पौडेल १ हजार ४१७ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी रश्मि आचार्य ले १ हजार २१४ मत ल्याएकी छन् भने कांग्रेसका मधु बास्तोलाले ७९३ मत प्राप्त गरेका छन्।

त्यस्तै कास्की क्षेत्र नम्बर ३ मा पनि रास्वपाकी विना गुरुङ ले अग्रता कायम गरेकी छन्। उनले १ हजार ३२३ मत प्राप्त गर्दा कांग्रेसका मनोज गुरुङले ५६१ मत र एमालेका दामोदर बैरानले ३३९ मत ल्याएका छन्।

हाल तीनै क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रारम्भिक मतपरिणामले भने कास्कीमा रास्वपाको बलियो उपस्थिति देखिएको विश्लेषण हुन थालेको छ।