प्रारम्भिक मतगणनामा रास्वपाको बलियो अग्रता, अधिकांश क्षेत्रमा अघि

User Image Prime TV News ४ हप्ता अगाडि
Image of प्रारम्भिक मतगणनामा रास्वपाको बलियो अग्रता, अधिकांश क्षेत्रमा अघि

काठमाडौ । देशभर जारी प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुन थालेसँगै राजनीतिक परिदृश्य रोचक बन्दै गएको छ। हालसम्म प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धेरै निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।

प्रारम्भिक गणनाअनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ। यस्तै नेकपा एमाले ६ क्षेत्रमा अघि रहेको छ भने नेपाली कांग्रेस ले २ क्षेत्रमा अग्रता बनाएको छ। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १ क्षेत्रमा अग्रता लिएको छ।

अहिलेसम्म अधिकांश स्थानमा मतगणना जारी रहेकाले औपचारिक रूपमा धेरै क्षेत्रमा अन्तिम परिणाम घोषणा भइसकेको छैन। यसैबीच देशको पाँचौँ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म कुनै पनि क्षेत्रमा अग्रता लिन सकेको छैन। त्यस्तै कुलमान घिसिङ नेतृत्वको नयाँ राजनीतिक दल उज्यालो नेपाल पार्टीले पनि काठमाडौँ क्षेत्र नम्बर ३ मा अग्रता बनाउन सकेको छैन।

देशभरबाट प्राप्त प्रारम्भिक मतपरिणामले सुरुवाती चरणदेखि नै रास्वपाको उल्लेख्य प्रभाव देखिएको विश्लेषण हुन थालेको छ। यद्यपि धेरै स्थानमा मतगणना प्रारम्भिक चरणमै रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ।