युएईमा फसेका भारतीयको उद्धार सुरु, बसमार्फत ओमान हुँदै उडान व्यवस्था

User Image Prime TV News एक महिना अगाडि
Image of युएईमा फसेका भारतीयको उद्धार सुरु, बसमार्फत ओमान हुँदै उडान व्यवस्था

काठमाडौ । संयुक्त अरब इमिरेट्समा उडान रद्द भई फसेका भारतीय नागरिकको उद्धार प्रक्रिया सुरु गरिएको छ। भारत सरकारले ओमान हुँदै स्वदेश फर्कने व्यवस्था मिलाएको हो।

गल्फन्युजका अनुसार, शारजाहको जुबैल बस स्टेशनबाट मस्कट अन्तर्राष्ट्रिय विमानस्थल सम्म बस सेवा सञ्चालन गरिएको छ। उक्त सेवा मार्च ५, २०२६ सम्म उपलब्ध रहने जनाइएको छ। यात्रुहरूलाई ओमान र साउदी अरबबाट भइरहेका उडानमार्फत भारत फर्काइने व्यवस्था गरिएको छ।

बस सेवा बिहान ९ बजेदेखि ५ बजेसम्म तथा साँझ ८ बजेदेखि १०:३० बजेसम्म सञ्चालन भइरहेको छ। ओमानमा आगमन भिसाका लागि योग्य यात्रुहरूलाई मात्र यो सेवा उपलब्ध गराइएको छ।

भारतले ओमान हुँदै यात्रा गर्ने भारतीय नागरिकका लागि सहजीकरण गरेको हो। बहराइन, कुवेत, कतार र साउदी अरेबियालगायत मध्यपूर्वका देशमा बसोबास गर्ने तथा मान्य आवासीय कार्ड भएका भारतीय नागरिकले पनि यो सुविधा उपयोग गर्न सक्नेछन्।

यसैबीच, स्पेस जेटले फुजैराह अन्तर्राष्ट्रिय विमानस्थल बाट दिल्ली, मुम्बई र कोच्चीका लागि विशेष उडान सञ्चालन गरिरहेको जनाएको छ। ती उडानहरू पनि मार्च ५ सम्म सञ्चालन हुने बताइएको छ।

उडान अवरोधका कारण समस्यामा परेका यात्रुलाई छिटो स्वदेश फर्काउने उद्देश्यले वैकल्पिक मार्ग र विशेष उडानको व्यवस्था गरिएको भारतीय अधिकारीहरूले बताएका छन्।