दुर्गा प्रसाई प्रकरणमा सर्वोच्चको कारण देखाऊ आदेश, पक्राउको औचित्य माग

User Image Prime TV News एक महिना अगाडि
Image of दुर्गा प्रसाई प्रकरणमा सर्वोच्चको कारण देखाऊ आदेश, पक्राउको औचित्य माग

काठामाडौ । सर्वोच्च अदालतले दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारलाई पक्राउको कारण स्पष्ट पार्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईलाई किन र कुन आधारमा पक्राउ गरिएको हो भन्ने विवरण लिखित रूपमा पेस गर्न निर्देशन दिएको हो। भक्तपुरस्थित निवासबाट सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईको तर्फबाट अधिवक्ता सुरेश बोहराले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

रिटमा गैरकानुनी थुनामा राखिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरिएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। प्रसाई यसअघि पनि विद्युतीय अपराधसम्बन्धी मुद्दामा पक्राउ परेर माघ २५ गते हाजिर जमानीमा छुटेका थिए।

त्यसपछि फागुन ४ गते पुनः पक्राउ परेका उनलाई निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोप लगाइएको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको आदेशमा फागुन १३ गते रिहा भएका प्रसाई चार दिनपछि फेरि पक्राउ परेका हुन्।

पछिल्लो समय प्रशासनले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशङ्कामा उनलाई नियन्त्रणमा लिने र अदालतबाट रिहा हुने क्रम दोहोरिदै आएको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशपछि अब सम्बन्धित निकायले पक्राउको औचित्य पुष्टि गर्नुपर्नेछ। यस प्रकरणमा अदालतको थप सुनुवाइपछि आगामी निर्णय आउनेछ।