रास्वपा सभापति रवि लामिछानेको फेसबुक पेज ह्याक प्रयासपछि ‘लक’
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आधिकारिक भेरिफाइड फेसबुक पेज ह्याक प्रयासपछि ‘लक’ गरिएको छ।
लामिछानेको सचिवालयले मंगलबार अपिल जारी गर्दै बिहानैदेखि अज्ञात बाह्य व्यक्तिहरूले पेजमा अनधिकृत पहुँच बनाउन पटक–पटक प्रयास गरेको जानकारी दिएको हो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पेजलाई अस्थायी रूपमा ‘लक’ गरेको जनाइएको छ।
सचिवालयका अनुसार पेज पूर्ण रूपमा सुरक्षित भई पुनः नियन्त्रणमा नआएसम्म कुनै पनि नयाँ सामग्री पोस्ट गरिने छैन। साथै, यस अवधिमा पेजबाट कुनै शंकास्पद पोस्ट, सन्देश वा लिंक सार्वजनिक भए त्यसलाई आधिकारिक नमान्न समर्थक तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।
सचिवालयले फेसबुकको प्राविधिक तथा सुरक्षा प्रक्रियाअनुसार पेज पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको पनि जनाएको छ। पछिल्लो समय सार्वजनिक व्यक्तित्व तथा राजनीतिक दलका सामाजिक सञ्जाल खातामा साइबर आक्रमणका प्रयास बढ्दै गएको सन्दर्भमा यो घटना पनि त्यही शृंखलाको हिस्सा हुन सक्ने अनुमान गरिएको छ।







