सीमानाका ७२ घण्टाका लागि बन्द, निर्वाचन अवधिभर कडा सुरक्षा व्यवस्था
Prime TV News एक महिना अगाडि 
काठमाडौ ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाका ७२ घण्टाका लागि बन्द गर्ने निर्णय गरेको छ।
निर्णय सोमबार मध्यरातदेखि लागू भई फागुन २१ गते राति १२ बजेसम्म कायम रहनेछ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार, पर्सासँग सीमा जोडिएका भारतको बिहार राज्यका पूर्वी चम्पारण र पश्चिम चम्पारण तर्फका नाकाहरू निर्वाचन सुरक्षाका कारण बन्द गरिएका हुन्।
निर्वाचनको समयमा दुवै देशबीच ७२ घण्टा नाका बन्द गर्ने अभ्यास रहँदै आएको उनले बताए। यसैबीच, तराई–मधेश क्षेत्रमा मनाइने होली पर्वलाई शान्त र मर्यादित रूपमा मनाउन प्रशासनले आग्रह गरेको छ। सार्वजनिक स्थलमा भीडभाड, होहल्ला, जबर्जस्ती रङ दल्ने तथा मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न सूचित गरिएको छ। कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झन्डा वा चुनाव चिह्न अंकित पोसाक लगाएर पर्व मनाउनसमेत रोक लगाइएको छ।
होलीका अवसरमा मोटरसाइकल दुर्घटनामा वृद्धि हुने गरेको भन्दै फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली मनाउन निषेध गरिएको प्रशासनले जनाएको छ। साथै फागुन १९ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्म जिल्लाभर राजनीतिक प्रचारप्रसार, सभाजुलुस तथा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रममा ध्वनि प्रदूषण हुने बाजागाजा प्रयोग गर्न नपाइने निर्णय गरिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन सुरक्षा निगरानी उच्चस्तरमा राखिएको प्रशासनले जनाएको छ।












