मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षामा चासो दिन आयोगले गरायो सरकारको ध्यानाकर्षण

User Image Prime TV News एक महिना अगाडि
Image of मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षामा चासो दिन आयोगले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौ । मध्यपूर्वमा चर्किएको सैन्य द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई लिएर चासो बढिरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेल ले जारी गरेको विज्ञप्तिमा युद्ध प्रभावित मुलुकमा रहेका नेपालीहरूको सुरक्षा, संरक्षण र आवश्यक परे उद्धारका लागि तुरुन्त पहल गर्न आग्रह गरिएको छ। आयोगले युद्धका कारण नेपाली नागरिकमा पर्न सक्ने जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा राज्य आफ्ना नागरिकको अभिभावक भएकाले उनीहरू विश्वका जुनसुकै देशमा रहे पनि सुरक्षा र संरक्षण सुनिश्चित गर्नु सरकारको दायित्व भएको स्मरण गराइएको छ। आयोगले प्रभावित देशहरूमा रहेका नेपालीहरूको यथार्थ तथ्याङ्क सङ्कलन, पछिल्लो अवस्थाबारे निरन्तर जानकारी संकलन र जोखिममा रहेका नागरिकको तत्काल उद्धार गरी स्वदेश फर्काउने योजना अघि बढाउन सुझाव दिएको छ।

आयोगले विदेशस्थित कूटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्न र गैरआवासीय नेपाली सङ्घ–सङ्गठनहरूसँग समन्वय तथा सहकार्य गर्न पनि सरकारलाई आग्रह गरेको छ। इजरायल र अमेरिकाले थालेको सैन्य कारबाहीपछि इरानले पनि जवाफ फर्काइरहेको अवस्थामा मध्यपूर्वका विभिन्न देशमा बसोबास गर्ने लाखौँ नेपालीको सुरक्षालाई लिएर चिन्ता बढ्दै गएको छ।

आयोगले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी सुदृढ गर्न सरकारलाई पुनः आग्रह गरेको छ।