कर्णाली प्रदेशकी संस्थापक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका कर्णाली प्रदेशस्तरका नेताहरूले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
रास्वपाकी कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतसहितका नेता–कार्यकर्ताहरू कांग्रेसमा आवद्ध भएका हुन्। उनीहरूलाई आइतबार सुर्खेतमा आयोजित एक कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै शर्माले कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै नयाँ प्रवेशी नेताहरूको भूमिकाले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। कांग्रेसका अनुसार बिक र बस्नेतसँगै रास्वपा परित्याग गरेका दर्जनौ नेता–कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गरेका छन्।
स्थानीय तह र प्रदेशस्तरमा संगठन विस्तारलाई बल पुग्ने दाबी कांग्रेसले गरेको छ।
रास्वपाबाट महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूको बहिर्गमनले कर्णाली प्रदेशको राजनीतिक समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ। यस विषयमा रास्वपाको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।







