बीबीसी डकुमेन्ट्रीलाई लिएर शङ्कर पोखरेलको आपत्ति
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको वीवीसीको डकुमेन्ट्रीप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै पोखरेलले उक्त डकुमेन्ट्रीलाई सामान्य सञ्चार सामग्रीको रूपमा लिन नमिल्ने बताएका छन्। उनका अनुसार चुनावजस्तो संवेदनशील समयमा अन्तर्राष्ट्रिय मिडियाबाट यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र नभई नियोजित भूराजनीतिक चलखेलको संकेत हुनसक्छ।
‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो,’ उनले लेखेका छन्। ‘नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ।’
पोखरेलले यस्ता सामग्रीले मतदाताको धारणा प्रभावित पार्न सक्ने भन्दै समय, सन्दर्भ र उद्देश्यप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले नेपाललाई अन्तर्राष्ट्रिय प्रोपागान्डा र शक्ति राजनीतिक खेलको माध्यम नबनाउन चेतावनीसमेत दिएका छन्।
उनले लोकतन्त्र र सार्वभौमिकताको रक्षा नेपाली जनताले आफैं गर्नुपर्नेमा जोड दिँदै सूचना स्वतन्त्र हुनुपर्ने तर त्यसको प्रयोग पारदर्शी र जिम्मेवार ढंगले हुनुपर्ने बताए। ‘सूचना स्वतन्त्र हुनुपर्छ, तर त्यसको उद्देश्य र प्रभाव पनि स्पष्ट हुनुपर्छ,’ उनले उल्लेख गरेका छन्।







