नेपाली कांग्रेसले उपत्यकामा साझा विकास खाका सार्वजनिक गर्दै
Prime TV News एक महिना अगाडि काठमाडौ । संघीय राजधानी उपत्यकाअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका नेपाली कांग्रेसका उम्मेदवारहरूले आगामी पाँच वर्षका लागि उपत्यकाको दिगो विकासको साझा मार्गचित्र सार्वजनिक गर्ने तयारी गरेका छन्।
महामन्त्री प्रदीप पौडेलका अनुसार, काठमाडौं, ललितपुर र भक्तपुरका १५ संघीय निर्वाचन क्षेत्रका उम्मेदवारहरू सहभागी भएर “विकासको मार्गचित्र भिजन १०” सार्वजनिक गरिनेछ। काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका पौडेलले साझा प्रतिबद्धता तयार पार्न उम्मेदवारहरूबीच परामर्श सम्पन्न गरेका हुन्।
पौडेलले भने, “समग्र उपत्यकाको विकास हाम्रो प्राथमिकता हो। एकल रूपमा भन्दा साझा रूपमा मुद्दा उठाउन सहज हुने भएकाले साझा प्रतिबद्धता सार्वजनिक गर्दैछौँ।” कार्यक्रममा तीनवटै जिल्लाका उम्मेदवारहरूको उपस्थिति रहनेछ। नेपाली कांग्रेस काठमाडौंका सचिव सुशन वैद्यका अनुसार, कार्यक्रम काठमाडौंको विशालनगर भाटभटेनीमा दिउँसो १ बजे सुरु हुनेछ।
यस खाकामा यातायात, पूर्वाधार र अन्य विकासमूलक मुद्दाहरू समावेश गरिएको छ, जसलाई आगामी निर्वाचन अभियानको मुख्य एजेन्डाको रूपमा अघि बढाइने योजना छ।







