चुनावी अभियान तीव्र बनाउँदै कांग्रेस, केही स्थानका सभा स्थगित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानलाई तीव्रता दिने क्रममा केही स्थानका सभा पुनःतालिका गरेको छ। आजका लागि तय गरिएका रुपन्देही र पोखराका चुनावी सभा भोलिका लागि सारिएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
यद्यपि सुर्खेत र बाँकेमा भने कार्यक्रम यथावत् रहनेछ। ती स्थानमा आजै चुनावी सभा आयोजना गरिने र पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहने जनाइएको छ। सभामा पार्टी सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुनेछन्।
कार्यक्रमहरूमा सम्बन्धित प्रदेशअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरू, प्रदेशस्तरीय नेताहरू तथा स्थानीय तहका नेतृत्व पंक्ति पनि सहभागी हुने तयारी गरिएको छ। कांग्रेसले फागुन १७ गते काठमाडौंमा वृहत् चुनावी सभा आयोजना गर्ने योजना समेत अघि सारेको छ। केन्द्रीय नेताहरूको उपस्थितिमा हुने उक्त सभालाई चुनावी अभियानको महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।
चुनाव नजिकिँदै जाँदा कांग्रेसले देशव्यापी रूपमा संगठन परिचालन, घरदैलो र आमसभालाई प्राथमिकता दिँदै अभियानलाई थप गतिशील बनाउने जनाएको छ।







