थाइल्यान्ड कम्बोडिया सीमामा तनाव पुनः चर्कियो, युद्धविराम उल्लङ्घनको आरोप
Prime TV News एक महिना अगाडि 
काठमाडौ । थाइल्यान्डले डिसेम्बरमा भएको युद्धविराम उल्लङ्घन गरिएको आरोप लगाउँदै मङ्गलबार कम्बोडियन सेनासँग सिमापार गोली हानाहान भएको जनाएको छ।
थाइल्यान्डको सेनाका अनुसार सीमावर्ती क्षेत्रमा भएको उक्त घटनाले दुई देशबीचको सुरक्षा अवस्था फेरि अस्थिर बनेको छ। सेनाले जारी गरेको विज्ञप्तिमा कम्बोडियन सेनाले थाइल्यान्डको सिसाकेट प्रान्त नजिक थाई गस्ती क्षेत्रतर्फ एकल ४० एमएम ग्रेनेड राउन्ड फायर गरेको उल्लेख छ।
घटनामा कुनै पनि थाई सैनिक घाइते नभएको सेनाले स्पष्ट पारेको छ। थाई सेनाले आत्मरक्षा र चेतावनीका रूपमा एम–७९ ग्रेनेड लन्चर प्रयोग गरिएको जनाएको छ। सेनाका प्रवक्ता विन्थाई सुवारीले कम्बोडियाको यस्तो गतिविधिले युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन भएको दाबी गरेका छन्।
प्रारम्भिक मूल्याङ्कनमा कम्बोडियन सेनाका नयाँ कर्मचारीहरू नियम र कमान्ड नियन्त्रण प्रक्रियासँग पूर्ण रूपमा परिचित नभएकाले परिचालन कमजोरी देखिएको र त्यसकै परिणामस्वरूप घटना भएको हुन सक्ने थाई सेनाको निष्कर्ष छ।
यस विषयमा कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले प्रतिक्रिया दिन अस्वीकार गरेको एएफपीले जनाएको छ। थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवाद शताब्दी पुरानो मानिन्छ, जसको जरो फ्रान्सेली औपनिवेशिक कालको सीमांकनमा रहेको छ।












