सुरक्षा अवस्था र निर्वाचन आचारसंहिता उल्लंघनप्रति मानब अधिकार आयोगको चासो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले देशभरको सुरक्षा अवस्था र निर्वाचन आचारसंहिता उल्लंघनप्रति गम्भीर ध्यानाकर्षण दिएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनपूर्व अनुगमन देशभर तीव्र पारिएको जानकारी दिएका छन्।
आयोगका अनुसार पछिल्लो समय दाङ, रौतहट र पर्सा जिल्लामा राजनीतिक दलका कार्यकर्ता र विभिन्न समूहबीच भएका विवादका कारण निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको छ। आयोगले चेतावनी दिएको छ कि राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले लक्षित गर्ने अमर्यादित र घृणायुक्त अभिव्यक्तिहरूले निर्वाचनको वातावरण विथोल्न सक्छन्। यसले सामाजिक र सांस्कृतिक सद्भावमा पनि नकारात्मक प्रभाव पार्न सक्छ।
विशेष गरी आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग रोक्न तत्काल निर्देशन दिएको छ। सामाजिक सञ्जालमा बालबालिकालाई संलग्न गरी प्रचार सामग्री तयार गर्नु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन मानिएको छ।
आयोगले राजनीतिक दल, नागरिक समाज, विद्यालय र अभिभावकहरूलाई निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री बनाउने जिम्मेवारी रहने स्पष्ट पारेको छ। साथै, सरकार र सम्बद्ध पक्षहरूले शान्ति सुरक्षामा असर गर्ने गतिविधि बन्द गर्न र नागरिकको मानव अधिकारको सम्मान गर्न निर्देशन दिएको छ।
डा. पोखरेलले भने, “कुनै पनि अवाञ्छित गतिविधि नगर्न र गराउन सचेत रहन सबैलाई आग्रह गर्दछौं। लोकतान्त्रिक मूल्य र मान्यताअनुसार निर्वाचन सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण छ।”












