दुई तिहाइ पार्टी फुटाउनेहरुले देश कमजोर बनाएः केपी ओली

User Image Prime TV News एक महिना अगाडि
Image of दुई तिहाइ पार्टी फुटाउनेहरुले देश कमजोर बनाएः केपी ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइको पार्टी फुटाउनेहरूले देशलाई कमजोर बनाएको टिप्पणी गरेका छन्। यो कुरा उनले श्रीमती राधिका शाक्यको पुस्तक *‘मेरा अनुभूतिहरू’*को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा व्यक्त गरे।

उनले आफ्नो राजनीतिक जीवनका संघर्ष, पार्टी निर्माणको अभियान र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै राजनीतिक इमानदारिता र दृढ संकल्प नै सफलता प्राप्तिको आधार भएको बताए।ओलीले भने,“सानो ठाउँबाट निर्माण सुरु गरेर नेकपा एमालेलाई देशको प्रमुख पार्टी र दुई तिहाइ हैसियतको शक्ति बनाइयो। तर त्यो सफलता सहन नसक्नेहरूले पार्टी फुटाएर आन्दोलनलाई कमजोर पारे।”

उनले आफ्नो कार्यशैलीबारे टिप्पणी गर्दै भने कि आफू भीरपखेरामा हाम फाल्दै नयाँ बाटो बनाउने मान्छे भएको र जीवनभर नयाँ ठाउँमा जाने र आफै बाटो खन्ने काम गरेको अनुभव बताए ।  अध्यक्ष ओलीले किशोरावस्थादेखि नै पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ राजनीतिमा होमिएको र १४ वर्षको कठोर जेल जीवन तथा भूमिगत कालका चुनौतीहरू भोगेको स्मरण गरेका थिए ।

उनले व्यक्तिगत जीवनमा पारदर्शिता र समानताको महत्व प्रकट गर्दै भने, “मैले आफूलाई जोइटिंग्रे घोषणा गरेको छु। श्रीमती बलियो बनाउनु र उनको कमाइमा बाँच्न मलाई गर्व छ।” युवाहरूसँग सम्बोधन गर्दै ओलीले समयको सदुपयोग गर्न र ‘टाइम पास’ नगर्न सुझाव दिए। उनले देशको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दै समयमै विवाह गरी सन्तान जन्माएर देशको भविष्य सुरक्षित गर्न आग्रह गरे ।