गौरमा कर्फ्यु जारी, अदालतका सेवा पूर्णरूपमा ठप्प
Prime TV News एक महिना अगाडि 
काठमाडौ । रौतहटको सदरमुकाम गौरमा जारी अनिश्चितकालीन कर्फ्युका कारण आइतबार अदालतका सम्पूर्ण सेवा ठप्प भएका छन्।
सुरक्षा अवस्था असहज बनेपछि प्रशासनले कडा कदम चालेसँगै न्यायिक सेवा पनि प्रभावित बनेको हो। जिल्ला प्रशासन कार्यालय रौतहतले गौर नगरपालिका क्षेत्रभित्र अर्को आदेश नभएसम्मका लागि आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाउँदै कर्फ्यु आदेश जारी गरेको छ। फागुन ७ गतेदेखि भड्किएको हिंसापछि सुरक्षा संवेदनशीलता बढेको प्रशासनको भनाइ छ।
यसैबीच रौतहट जिल्ला अदालत ले सूचना जारी गर्दै आइतबारका लागि तय भएका सबै सेवा तथा कामकारबाही स्थगित गरिएको जनाएको छ। अदालतका अनुसार आजका लागि तोकिएका तारिख र म्यादसमेत नगुज्रिने भएकाले सेवाग्राहीलाई कानुनी हानी नपर्ने व्यवस्था गरिएको छ।
कर्फ्युका कारण सरकारी कार्यालय, बजार तथा सर्वसाधारणको दैनिक गतिविधि प्रभावित बनेका छन्। प्रशासनले शान्ति–सुरक्षा सामान्य अवस्थामा फर्किएपछि मात्र सेवा सञ्चालन हुने जनाएको छ।












