सज्जनराज वैद्यले पहिलोचोटी जापानमा लाइभ कन्सर्ट गर्दै, विद्यार्थीलाई विशेष छुट

User Image Prime TV News एक महिना अगाडि
Image of सज्जनराज वैद्यले पहिलोचोटी जापानमा लाइभ कन्सर्ट गर्दै, विद्यार्थीलाई विशेष छुट

 टोकियो ।  युवा पुस्तामाझ अत्यधिक रुचाइएका गायक सज्जनराज वैद्यले पहिलोचोटी जापानमा लाइभ कन्सर्ट गर्ने भएका छन् ।

आगामी २०२५ को मार्च १० तारिखका दिन सज्जनराज वैद्यको लाइभ कन्सर्ट टोकियो हाराजुकु स्टेशनबाट मात्र ३ मिनेटको दुरीमा रहेको योयोगी नेशनल स्टेडियममा हुने बताइएको छ ।

करिब ५ हजार सिट क्षमता भएको उक्त नेशनल स्टेडियममा पहिलोचोटी नेपालीको ऐतिहासिक कार्यक्रम हुन लागेको हो । करिब एक वर्ष लामो निरन्तर प्रयासपछि कन्सर्टका लागि उक्त स्टेडियम उपलब्ध हुन सकेको जिएमटी इन्टरनेशनलले जानकारी दियो ।

जिएमटी इन्टरनेशनलको मुल ब्यानरमा हुन लागेको उक्त लाइभ कन्सर्टका लागि नेपालबाट दर्जनभन्दा बढी कलाकारहरू जापान आउने भएका छन् । राजधानी टोकियोबाहेक नागोया, फुकुओका र ओसाका सहरमा पनि सज्जनराज वैद्य ब्याण्डको लाइभ कन्सर्ट हुने तैयारी भइरहेको बुझिएको छ ।

यो ब्याण्डको लाइभ कन्सर्ट यसअघि बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलियाका विभिन्न सहरहरूमा दर्जनौपटक र मध्यपूर्वका दुबाई, दोहा, भारतका मुम्बई, दिल्ली लगायतका सहरमा पचासौँ हजार दर्शकहरूका माझ धेरैपटक भइसकेको भएता पनि जापानमा भने पहिलोचोटी हुन लागेको हो ।

मार्च १० तारिखका दिन हुने लाइभ कन्सर्टको टिकट अंग्रेजी नयाँ वर्ष २०२६ लागेसँगै अनलाइनमार्फत बिक्रीमा राखिने आयोजक स्रोतले जनाएको छ ।  साथै विद्यार्थीहरूलाई २० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने आयोजक टिमले बताएका छन्।