ओलीको चेतावनी: चुनाव स्थगित हुन सक्ने संकेत, विपक्षमाथि षड्यन्त्रको आरोप
Prime TV News एक महिना अगाडि 
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन बीचमै स्थगित हुन सक्ने संकेत दिएका छन्। झापाको भद्रपुरमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले चुनाव हुन नसक्ने सम्भावना देखिएको टिप्पणी गरे ।
चुनावी तयारी तीव्र भइसकेको उल्लेख गर्दै ओलीले निर्वाचनमा राज्यको ठूलो खर्च भइसकेको, सुरक्षा संयन्त्र परिचालित भइसकेको अवस्थामा चुनाव हुनैपर्ने तर्क गरे। तर, त्यसकै बीचमा “चुनाव स्थगित हुन पनि सक्छ” भन्ने उनको अभिव्यक्तिले राजनीतिक वृत्तमा आशंका र बहस सिर्जना गरेको छ।
देशका विभिन्न स्थानमा पार्टीका झन्डा जलाइएको घटनालाई अपराधको संज्ञा दिँदै ओलीले यसलाई नियोजित गतिविधि भने। उनले हार्ने डरले केही शक्तिहरूले चुनाव भाँड्ने षड्यन्त्र गरिरहेको दाबी गरे। सो क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी लाई लक्षित गर्दै झन्डा जलाउने कार्य योजनाबद्ध भएको आरोप लगाए।
झापा–५ मा आफ्ना प्रतिस्पर्धीमाथि कटाक्ष गर्दै ओलीले स्थानीय तहसमेत चलाउन नसक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउने बहसलाई अस्वीकार्य भने। 'देश प्रयोगशाला होइन,' भन्दै उनले अनुभवहीन नेतृत्वप्रति आपत्ति जनाए। उनको कटाक्ष बालेन्द्र शाह प्रति लक्षित रहेको बुझिएको छ।
ओलीले आगामी निर्वाचनलाई 'देश बनाउने र जलाउनेबीचको लडाई' को संज्ञा दिँदै एमाले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षामा कसैको कठपुतली नबन्ने दाबी गरे। आफू सरकारमा रहँदा स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधार विकासमा उल्लेखनीय काम भएको दाबी पनि उनले दोहोर्याए।







