दाङमा वीरेन्द्र शालिकमाथि नाराबाजी, राप्रपाले खेद प्रकट
Prime TV News एक महिना अगाडि 
दाङ । तुलसीपुर उपमहानगरपालिकाको वीरेन्द्रचोकमा बिहीबार राति रवि लामिछानेको आगमनको क्रममा केही राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकहरूले राजा वीरेन्द्रको शालिकमाथि उभिएर राष्ट्रिय स्वतन्त्र पार्टी को पक्षमा नाराबाजी गरेको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले खेद प्रकट गरेको छ।
राप्रपाले जारी गरेको विज्ञप्तिमा प्रदेश सचिव राजेन्द्र अधिकारीले भने, “कसैको आस्थामा असर पर्ने अराजकतापूर्ण व्यवहार सह्य हुँदैन। सम्बन्धित पक्षले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्नुपर्ने छ र भविष्यमा यस्तो घटना नदोहोरिने प्रतिबद्धता गर्नुपर्छ।”
राप्रपाले निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण सिर्जना गर्नु सबै पार्टीको दायित्व भएको स्मरण गराउँदै स्वस्थ प्रतिस्पर्धाको वातावरण कायम गर्न सबै दल र व्यक्तिलाई आग्रह गरेको छ।
त्यस्तै, गएराति उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी को समर्थन समूहले नेकपा एमालेको झण्डा जलाएसाथै केपी ओली विरुद्ध आपत्तिजनक नाराबाजी गरेको थियो। एमालेले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ।







