दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईलाई अदालतसमक्ष उपस्थित गराई पक्राउको कारण लिखित रूपमा पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो।
प्रसाईको तर्फबाट उमा प्रसाईले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो। यसअघि प्रसाईले आफूलाई प्रहरीले गैरकानुनी रूपमा धरपकड गरेको दाबी गर्दै प्रहरी परिसर काठमाडौलाई विपक्षी बनाई रिट दायर गरेका थिए।
उक्त रिटमा न्यायाधीश नित्यानन्द पाण्डे को इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनी सोमबार पक्राउ परेका थिए। यसअघि पनि माघ २३ गते पक्राउ परेका प्रसाई हाजिर जमानीमा छुटेका थिए। निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले उनीसँग बयान लिएको थियो। माघ ५ मा पोखराबाट पक्राउ परेका उनलाई बयानपछि छाडिएको थियो।
प्रहरीले भने प्रसाईले फागुन २१ मा हुने भनिएको निर्वाचन विथोल्ने अभियान सुरु गर्न सक्ने आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ। पछिल्लो आदेशसँगै प्रसाईंको पक्राउ र अनुसन्धान प्रक्रियाबारे सर्वोच्च अदालतमा प्रत्यक्ष परीक्षण हुने भएको छ।







