पश्चिमी न्यून चापीय प्रणाली सक्रिय

User Image Prime TV News एक महिना अगाडि
Image of पश्चिमी न्यून चापीय प्रणाली सक्रिय

काठमाडौ । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण देशका विभिन्न भागमा मौसम अस्थिर बनेको छ भने हिमाली तथा पहाडी क्षेत्रमा चिसो अझ बढ्ने संकेत देखिएको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्य पहाडी भेगमा भने आंशिक बदली रहने जनाइएको छ।

तराई क्षेत्रमा भने केही स्थानमा हुस्सु र तुवाँलो लागेकाले बिहान र रातिको समयमा दृश्यता अत्यन्त कमजोर हुने अनुमान छ। यसले सडक तथा हवाई यातायातमा प्रत्यक्ष असर पार्न सक्ने महाशाखाले जनाएको छ।

यस्तै, काठमाडौं उपत्यकाका केही स्थानमा बिहान हल्का वर्षा भएको छ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम प्रायः सफा रहने पूर्वानुमान छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने रातिको समयमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।